काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रहरूमा खोज, उद्धार तथा राहत वितरण कार्य तीव्र पारिएको छ। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भदौ २३ गते अपराह्न १:०० बजेसम्मको अध्यावधिक विवरण अनुसार बाढीका कारण हालसम्म १,३५७ जनाको मानवीय क्षति भएको छ।
जसमध्ये रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासी पूर्वमा २२३ र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको छ। फेला परेका शवहरूमध्ये हालसम्म १०२ वटा शवको सनाखत भई आफन्तले बुझिलिएका छन्। प्राधिकरणले डिएनए परीक्षणका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा फोटो र नाता प्रमाणितसहित नमुना दिन सकिने व्यवस्था मिलाएको छ।
विपद्का कारण हालसम्म कुल ५,३२६ जना व्यक्तिहरू सम्पर्कविहीन रहेका छन्। रसुवा जिल्लाबाट मात्रै २,८६० जना (१,३९३ स्थानीय नागरिक र १,२८६ अन्य जिल्लाका नागरिक) सम्पर्क बाहिर छन् भने सम्पर्कविहीन हुनेहरूमा नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरीका १२, सरकारी कर्मचारी ७३ र बैंक तथा वित्तीय संस्थाका २६ जना कर्मचारी रहेका छन्।
यसैगरी, नुवाकोट जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार करिब १,९८१ जना नेपाली नागरिक र करिब ५८७ जना विदेशी पर्यटक अझै सम्पर्कमा आएका छैनन्। सम्पर्कविहीनहरूको कुल संख्याबाट हालसम्म सनाखत भएका १०२ वटा शवको संख्या घटाइएको छ।
बाढीका कारण घाइते भएका ६,८२७ जनाको विभिन्न स्थानमा उपचार भइरहेको छ। जसमध्ये विभिन्न १० वटा अस्पतालमा ३२७ जना (२४२ जना डिस्चार्ज भइसकेका), नेपाली सेनामार्फत ३,४०४ जना र सशस्त्र प्रहरीमार्फत ३,०९६ जनाको उपचार गरिएको छ।
यस्तै, हालसम्म प्रभावित क्षेत्रहरूबाट कुल १३,५८३ जनाको सकुशल उद्धार गरिएको छ। उद्धार तथा राहतका लागि ३९ वटा होल्डिङ सेन्टरमा ३,५३३ जनालाई राखिएको छ, जसमध्ये रसुवामा ६६९, नुवाकोटमा २,६५१ र धादिङमा २१३ जना रहेका छन्।
उद्धार कार्यलाई प्रभावकारी बनाउन २१,४०२ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमा नेपाल प्रहरीका ७,९१२, नेपाली सेनाका ९,२८७ र सशस्त्र प्रहरी बलका ४,२०३ जना रहेका छन्। उद्धार र राहत सामग्री ओसारपसारका लागि हवाई तथा स्थल मार्गको प्रयोग गरिएको छ।
हालसम्म नेपाली सेनाद्वारा १,१५७ पटक, काठमाडौँबाट निजी क्षेत्रमार्फत १२९ पटक र सशस्त्र प्रहरी बलद्वारा २०३ पटक गरी ठूलो संख्यामा हेलिकप्टर उडान भइसकेका छन्। भदौ २२ गते मात्रै प्रभावित जिल्लाहरूमा २ वटा हेलिकोप्टर र ८ वटा मिनी ट्रक मार्फत खाद्यान्न तथा गैर-खाद्यान्न राहत सामग्री ढुवानी गरिएको थियो।
बाढी प्रभावित क्षेत्रमा पूर्वाधार पुनःस्थापना र राहत वितरणको काम पनि अघि बढाइएको छ। विद्युत् आपूर्तिसतर्फ रसुवामा ७८ प्रतिशत, नुवाकोटमा ९६.७ प्रतिशत र धादिङमा ९९.८ प्रतिशत घरधुरीमा विद्युत् सुचारु भइसकेको छ।
नेपाल सरकारले राहत स्वरूप रसुवा जिल्लालाई रु १ करोड, नुवाकोटलाई रु १ करोड, धादिङलाई रु ५० लाख र प्रभावित १५ पालिकालाई रु १३ करोड ५० लाख नगद राहत उपलब्ध गराएको छ। प्रभावित क्षेत्रमा इन्धनको मौज्दाततर्फ ५० हजार लिटर डिजेल, १८ हजार लिटर पेट्रोल, १८ हजार लिटर हवाई इन्धन र ४५७ वटा ग्यास सिलिन्डर पठाइएको छ। साथै, स्वास्थ्य मन्त्रालयमार्फत १५० जनाभन्दा बढी मनोसामाजिक परामर्शदाता परिचालन गरिएको छ।
प्राधिकरणका अनुसार सम्पर्कविहीन, उपचाररत र उद्धार गरिएका व्यक्तिहरूको विस्तृत विवरण प्राधिकरणको आधिकारिक फेसबुक पेज तथा वेबसाइटमा हेर्न सकिनेछ। उल्लेखित सम्पर्कविहीनको संख्यामा पहिचान हुन बाँकी शवहरू तथा उद्धार गरिएका व्यक्तिहरू पनि समावेश भएको हुन सक्ने भएकाले तथ्याङ्क रुजु गर्ने कार्य निरन्तर भइरहेको प्राधिकरणले जनाएको छ।

