काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ विद्युत् निर्यात गरेर ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । बाढीका कारण केही जलविद्युत् आयोजनाको उत्पादन प्रभावित भए पनि गत वर्षको असोज र चालू आवको भदौको तुलनामा निर्यात आम्दानी बढेको हो ।
प्राधिकरणका अनुसार असोजमा भारततर्फ ६३ करोड ३९ लाख ८६ हजार ८ युनिट विद्युत् निर्यात भएको छ । गत वर्षको असोजमा ४ अर्ब ९६ करोड ३० लाख रुपैयाँको विद्युत् निर्यात भएको थियो । यस वर्षको असोजमा उक्त रकम ९६ करोड २० लाख रुपैयाँले बढेको हो ।
त्यस्तै, चालू आवको भदौमा भएको ५ अर्ब ९ करोड २५ लाख रुपैयाँको निर्यात कारोबारभन्दा असोजको आम्दानी ८३ करोड २५ लाख रुपैयाँ बढी हो । साउनदेखि असोजसम्म तीन महिनामा विद्युत् निर्यातबाट कुल १६ अर्ब १५ करोड १३ लाख रुपैयाँको कारोबार भएको छ ।
यसैबीच, भारतको प्रसारण प्रणाली प्रयोग गरी बंगलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत् निर्यात पनि पुन: सुरु भएको छ । बाढीका कारण त्रिशूली र चिलिमे जलविद्युत् केन्द्रमा क्षति पुगेपछि रोकिएको निर्यात कात्तिक ६ गतेदेखि सुरु भएको हो ।
नयाँ व्यवस्थाअनुसार सोलु, काबेली–१ र तल्लो मोदी जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् बंगलादेश तथा भारतको हरियाणातर्फ निर्यात गर्न अनुमति प्राप्त भएको छ ।
प्राधिकरणका अनुसार भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट थप ३१ मेगावाट निर्यातको अनुमति प्राप्त भएसँगै भारततर्फ निर्यात गर्न स्वीकृत कुल क्षमता १ हजार १७९ मेगावाट पुगेको छ ।
यसले वर्षायाममा उत्पादित अतिरिक्त विद्युत्को बजार व्यवस्थापन र विदेशी मुद्रा आर्जनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
