काठमाडाैँ । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’मा ११ अर्ब ९८ करोड ९७ लाख ९६ हजार ८४ रुपैयाँ मौज्दात रहेको छ।
बाढीप्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धार कार्य सञ्चालन गर्न कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (पीएमओ) ले जनाएको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार स्वदेश तथा विदेशबाट प्राप्त सहयोग रकम ९ वटा वाणिज्य बैंकमा रहेका खाताहरूमा ८ अर्ब ७८ करोड ८२ लाख ५८ हजार ३०४ रुपैयाँ मौज्दात छ।
यसैगरी, दुई वटा वाणिज्य बैंकमा रहेका विदेशी मुद्रा खाताहरूमा २ करोड ११ लाख ४३ हजार ४२७ अमेरिकी डलर जम्मा रहेको छ।
भोटेकोशीको बाढीपछि सरकारले राहत तथा पुनर्स्थापनाका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेसँगै विभिन्न संघसंस्था र व्यक्तिगत रूपमा सहयोग रकम दाखिला हुने क्रम जारी रहेको कार्यालयले स्पष्ट पारेको छ।
