काठमाडौं । भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी बाढीले जलविद्युत् आयोजनाहरूमा पारेको प्रभाव विश्वमै अत्यन्तै असामान्य र दुर्लभ प्रकृतिको विपत्ति भएको अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ प्रोफेसर आर्नोल्ड डिक्सले बताएका छन्
।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै डिक्सले आफ्नो लामो अनुभवमा यस्तो अभूतपूर्व प्रलय कहिल्यै नदेखेको र सम्भवत: विश्व इतिहासमै यो पहिलो घटना भएको उल्लेख गरे
।
बाढीका कारण करिब ७२ किलोमिटर क्षेत्र नराम्ररी प्रभावित भएको र साँघुरा गल्छी तथा भत्किएका पुल–सडकका कारण उद्धार टोलीले ठूलो जोखिम मोलेर काम गरिरहेको उनले बताए ।
सुरुङभित्र फसेका मानिसहरूको खोज तथा उद्धारमा प्राविधिक सहयोग गरिरहेका डिक्सका अनुसार अहिलेको मुख्य चुनौती घटनास्थलसम्म भारी मेसिन पुर्याउनु हो
। पाँच टनसम्मका भारी उपकरण हेलिकप्टरमा नअटाउने र सडक पूर्वाधार ध्वस्त भएकाले वैकल्पिक रूपमा केबल पुल र रोपवेको प्रयोग गर्ने सोच बनाइएको छ
।
यद्यपि, बाहिर ठूलो विनाश देखिए तापनि भूमिगत संरचनाभित्र अझै पनि जीवित मानिसहरू हुन सक्ने सम्भावना कायमै रहेकाले अन्तिम समयसम्म खोजी कार्य निरन्तर राख्नुपर्नेमा उनले विशेष जोड दिएका छन् ।
सन् २०२३ मा भारतको सिल्क्यारा सुरुङमा फसेका ४१ कामदारको सफल उद्धार गरेर विश्वभर चर्चा कमाएका डिक्सले यो प्राकृतिक विपत्तिमा नेपाल वा जलविद्युत् आयोजनाका इन्जिनियरिङ डिजाइनलाई दोष दिनु पूर्णत: गलत हुने स्पष्ट पारे
।
जलविद्युत् क्षेत्र केवल पूर्वाधार मात्र नभई नेपालको राष्ट्रिय पहिचान, ऊर्जा सुरक्षा र सार्वभौमिकतासँग जोडिएको मुख्य आधार भएकाले भविष्यका डिजाइनमै उद्धार र सुरक्षा प्रणाली समेट्नुपर्ने उनको सुझाव छ ।
अहिले पूरै अन्तर्राष्ट्रिय समुदाय र इन्टरनेसनल टनेलिङ एसोसिएसन नेपाली जनताको साथमा रहेको र प्रार्थना सभाहरू भइरहेको सन्देश दिँदै उनले नेपालीहरू यो विपत्तिमा एक्लो नभएको स्पष्ट पारे ।
