काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भदौ महिनामा भारत र बंगलादेशमा गरी ५ अर्ब ९ करोड २४ लाख रुपैयाँभन्दा बढीको विद्युत् बिक्री गरेको छ ।
प्राधिकरणका अनुसार भदौमा दुई देशतर्फ कुल ५६ करोड ५६ लाख ६ हजार ४ सय ४३ युनिट विद्युत् निर्यात गरिएको हो । नेपालले द्विपक्षीय सम्झौता तथा विद्युत् एक्सचेन्ज बजारमार्फत विद्युत् बिक्री गर्दै आएको छ ।
भदौ महिनामा द्विपक्षीय सम्झौताअन्तर्गत ४२ करोड १६ लाख युनिटभन्दा बढी विद्युत् निर्यात भएको छ । यसबाट प्राधिकरणले ३ अर्ब ६४ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको जनाएको छ ।
त्यस्तै, एक्सचेन्ज बजारमार्फत १४ करोड ३९ लाख युनिटभन्दा बढी विद्युत् बिक्री गरिएको छ । उक्त विद्युत् निर्यातबाट १ अर्ब ४४ करोड ९९ लाख रुपैयाँभन्दा बढी आम्दानी भएको प्राधिकरणको विवरणमा उल्लेख छ ।
यसैबीच, भदौ १० गते आएको विनाशकारी भोटेकोसी बाढीका कारण चिलिमे र त्रिशूली जलविद्युत् केन्द्रका संरचनामा क्षति पुगेपछि बंगलादेशतर्फ हुँदै आएको विद्युत् निर्यात प्रभावित भएको छ ।
प्राधिकरणका अनुसार अहिले बंगलादेशतर्फको विद्युत् निर्यात रोकिएको छ । अन्य जलविद्युत् आयोजनाबाट बंगलादेशमा पुन: विद्युत् पठाउन भारतीय पक्षबाट आवश्यक स्वीकृति लिन पहल भइरहेको छ ।
