काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि प्राधिकरणको कामु कार्यकारी निर्देशकका रूपमा कार्यरत श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
श्रेष्ठ लामो समयदेखि नेपाल विद्युत् प्राधिकरणमा कार्यरत प्राविधिक कर्मचारी हुन् । उनले सन् १९९७ नोभेम्बरमा प्राधिकरणको भार प्रेषण केन्द्रमा प्रणाली सञ्चालन इन्जिनियरका रूपमा सेवा सुरु गरेका थिए । त्यसयता करिब २८ वर्षभन्दा बढी समय प्राधिकरणमा बिताएका श्रेष्ठले विद्युत् उत्पादन, प्रसारण, वितरण तथा प्रणाली सञ्चालनका विभिन्न जिम्मेवारी सम्हालिसकेका छन् ।
श्रेष्ठले सन् १९९६ मा भारतको अलिगढ मुस्लिम विश्वविद्यालयबाट विद्युत् इन्जिनियरिङमा स्नातक गरेका छन् । त्यसपछि त्रिभुवन विश्वविद्यालयअन्तर्गत पुल्चोक क्याम्पसबाट सन् २००५ मा सूचना तथा सञ्चार इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् ।
प्राधिकरणमा प्रवेश गरेपछि उनले काठमाडौँ पूर्व वितरण केन्द्रमा सहायक प्रबन्धकका रूपमा काम गरे । त्यसपछि विभिन्न वितरण केन्द्रको नेतृत्व, हेटौँडा ग्रिड डिभिजनको प्रमुख तथा कालीगण्डकी जलविद्युत् केन्द्रको प्रमुखको जिम्मेवारी सम्हाले । अत्तरिया, हेटौँडा र काठमाडौँ क्षेत्रीय कार्यालयको प्रमुखसमेत भइसकेका श्रेष्ठले सन् २०१८ देखि २०२० सम्म ग्रिड सञ्चालन विभागको प्रमुखका रूपमा काम गरेका थिए ।
त्यसपछि उनी प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक हुँदै वितरण तथा ग्राहक सेवा निर्देशनालयको उपकार्यकारी निर्देशक बने । २०२६ मे १३ देखि प्राधिकरणको कार्यकारी नेतृत्वमा रहेका श्रेष्ठलाई अहिले सरकारले पूर्ण कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो ।
श्रेष्ठसँग विद्युत् क्षेत्रको रणनीतिक योजना, ठूला ऊर्जा पूर्वाधार आयोजना, प्रसारण तथा वितरण प्रणाली व्यवस्थापन, ऊर्जा नीति, संस्थागत सुधार, नियामकीय समन्वय र परियोजना कार्यान्वयनको अनुभव रहेको उनको व्यावसायिक विवरणमा उल्लेख छ ।
यससँगै उत्पादनदेखि प्रसारण र वितरणसम्मको लामो प्राविधिक तथा व्यवस्थापकीय अनुभव भएका श्रेष्ठले अब नेपाल विद्युत् प्राधिकरणको नेतृत्व सम्हाल्नेछन्। उनको कार्यकाल चार वर्षको हुने बताइएको छ ।
