काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले कात्तिक ११ गतेदेखि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गर्ने भएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले शेयर बिक्रीमा ल्याउन लागेको हो ।
कम्पनीको जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँ छ। यसमध्ये ३५ प्रतिशत अर्थात् ५९ लाख १५ हजार कित्ता शेयर सर्वसाधारण समूहका लागि छुट्याइएको छ । उक्त हिस्साबाट १६ लाख ९० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दा र ४ लाख २२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिनेछ ।
आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको शेयरमध्ये दोलखाको बिगु गाउँपालिका–५, ६, ७ र ८ तथा कालिन्चोक गाउँपालिका–२, ३ र ४ का बासिन्दालाई १० लाख १४ हजार कित्ता उपलब्ध गराइनेछ । यी वडाबाहेक बिगु र कालिन्चोक गाउँपालिकाका अन्य वडाका स्थानीयका लागि ६ लाख ७६ हजार कित्ता शेयर छुट्याइएको छ ।
आईपीओमा आवेदन दिने स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन्। आवेदन दिँदा प्रतिकित्ता १०० रुपैयाँका दरले रकम भुक्तानी गर्नुपर्नेछ ।
स्थानीय बासिन्दाका लागि कात्तिक ११ गतेदेखि खुल्ने आईपीओ छिटोमा कात्तिक २५ गते र ढिलोमा मंसिर १० गते बैंकिङ समयपछि बन्द हुनेछ । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुल्ने आवेदन छिटोमा कात्तिक १६ गते र ढिलोमा कात्तिक २५ गते बन्द हुने कम्पनीले जनाएको छ ।
हाइड्रोपावरले इक्रा नेपाल लिमिटेडबाट ‘इक्राएनपी–आईआर बीबीप्लस’ रेटिङ प्राप्त गरेको छ । सन् २०२६ अगस्ट १३ मा प्रदान गरिएको उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ। यो रेटिङ सन् २०२७ अगस्ट १३ सम्म बहाल रहनेछ ।
यस आईपीओको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सिटिजन्स क्यापिटल लिमिटेडले पाएको छ ।
