काठमाडाैं । आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्र ढकालले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन मध्य कालीगण्डकी जलविद्युत् आयोजनाको स्थलगत अवलोकनका क्रममा कालीगण्डकी नदीमा आएको भीषण बाढीले पुर्याएको क्षतिप्रति दु:ख व्यक्त गरेका छन् ।
ढकालले बाढीबाट सडक, पुल, स्थानीय बस्ती तथा जनजीवनमा परेको असर हृदयविदारक रहेको बताएका छन् । बाढीले पुर्याएको क्षतिको प्रत्यक्ष अवलोकन गर्दा आफू भावुक र स्तब्ध बनेको उल्लेख गर्दै उनले विपद्का बेला मानवीय प्रयासको महत्त्व पनि उजागर भएको बताएका छन् ।
यद्यपि, बाढीपहिरोबाट क्षतिग्रस्त सडक, पुल तथा अन्य संरचनाको पुनर्निर्माण र मर्मत कार्य तीव्र गतिमा अघि बढिरहेको देख्दा आशा जागेको उनको भनाइ छ । विशेषगरी अवरुद्ध बेनी–जोमसोम सडक पुन: सञ्चालनमा आउनुलाई उनले सकारात्मक उपलब्धिका रूपमा लिएका छन् ।

सडक पुन: सञ्चालनमा आएपछि स्थानीय बासिन्दा, यात्रु तथा सामान ढुवानीमा सहजता आएको र मुक्तिनाथ दर्शनका लागि जाने तीर्थयात्रीसहित जोमसोम, लोमान्थाङ र कोरला नाकासम्म पुग्ने पर्यटक तथा सर्वसाधारणलाई राहत मिलेको ढकालले उल्लेख गरेका छन् ।
विपद् व्यवस्थापन, सडक पुनस्र्थापना तथा राहत कार्यमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै उनले नेपाल सरकार, गण्डकी प्रदेश सरकार र स्थानीय तहप्रति आभार व्यक्त गरेका छन् । सडक विभाग, बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयका प्राविधिक तथा कर्मचारी र सुरक्षा निकायका सदस्यहरूले कठिन परिस्थितिमा पनि दिनरात खटिएर सडक सञ्चालनमा ल्याउन गरेको प्रयासको उनले प्रशंसा गरेका छन् ।
बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै ढकालले प्रभावित परिवार तथा समुदायप्रति समवेदना प्रकट गरेका छन् ।
भौतिक क्षति ठूलो भए पनि सामूहिक संकल्प, आत्मबल र सहकार्यबाट विपद्को सामना गर्न सकिने उनको विश्वास छ । सबै पक्षबीच समन्वय र सहकार्य कायम रहे प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनरुत्थान थप सुदृढ रूपमा अघि बढ्ने उनले बताएका छन् ।
