काठमाडौै । ऊर्जा उत्पादन र पूर्वाधार विकास कोशी प्रदेशका महत्त्वपूर्ण सम्भावनाका क्षेत्र हुन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘कोशी प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन (आर्थिक वर्ष २०८२/८३)’ अनुसार अध्ययनमा समेटिएका काेशी प्रदेशमा सञ्चालित जलविद्युत् आयोजनाहरूको कुल जडित क्षमता ९७७.२ मेगावाट पुगेको छ। आर्थिक वर्ष २०८२/८३ मा २०६.२ मेगावाट क्षमताका सात जलविद्युत् आयोजना सम्पन्न भएका छन्।
यससँगै ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना, कोशी कोरिडोर प्रसारण लाइन, पुष्पलाल मध्यपहाडी लोकमार्ग, मदन भण्डारी राजमार्ग र हुलाकी राजमार्गजस्ता राष्ट्रिय गौरव तथा रणनीतिक पूर्वाधार आयोजना निर्माणाधीन छन्।
जलविद्युत् उत्पादन र प्रसारण पूर्वाधारको विस्तारले उद्योग सञ्चालनका लागि आवश्यक ऊर्जा उपलब्ध गराउन तथा औद्योगिक गतिविधि विस्तार गर्न सहयोग गर्न सक्छ। विद्युत् उत्पादनसँगै प्रसारण लाइन, सडक र बजार पहुँच सुधार गर्न सके प्रदेशका दुर्गम क्षेत्रसम्म आर्थिक गतिविधि फैलाउन सकिने सम्भावना छ।
ऊर्जाको उपलब्धतालाई स्थानीय उद्योगको विकास, कृषि उपजको प्रशोधन र नयाँ व्यवसाय स्थापनासँग जोड्न सके यसको लाभ उत्पादन र रोजगारीमा समेत देखिन सक्छ।
