काठमाडौँ । भोटेकोसी नदीमा गत भदौ १० गते आएको भीषण बाढीका कारण जलविद्युत् क्षेत्रमा कार्यरत ९७७ जना कर्मचारी तथा मजदुरहरू अझै सम्पर्कविहीन रहेका छन् ।
विभिन्न १० वटा जलविद्युत् आयोजना, एक सबस्टेसन र एउटा वितरण केन्द्रबाट यति ठूलो सङ्ख्यामा मानिसहरू हराइरहेका हुन् । बाढी आएको १० दिनभन्दा बढी समय बितिसक्दा पनि उद्धार प्रयास प्रभावकारी हुन नसक्दा उनीहरूको स्थिति अज्ञात नै रहेको छ ।
बेपत्ता हुनेहरूमा ८०५ जना आयोजना परिसरबाट र १७२ जना सुरुङभित्र फसेका कामदारहरू रहेका छन् । उद्धारका लागि नेपाली सेना, सुरक्षा निकाय र स्थानीय टोलीहरू निरन्तर खटिएका छन् ।
पछिल्लो समय माथिल्लो त्रिशूली ३ ’ए’ को सुरुङबाट २ जना कर्मचारीको सकुशल उद्धार गरिए पनि सोही आयोजनाका ४० जना अझै हराइरहेका छन् ।
सबैभन्दा धेरै क्षति माथिल्लो त्रिशूली–१ मा भएको छ । जहाँबाट ५७६ जना सम्पर्कविहीन छन् । उक्त आयोजनाको सुरुङभित्र ढुङ्गा, लेदो र उपकरणहरू थुप्रेका कारण टोली ४० मिटरभन्दा अगाडि बढ्न सकेको छैन ।
यसैगरी माथिल्लो त्रिशूली ३ ’बी’ बाट १९१ जना र रसुवागढी जलविद्युत् केन्द्रबाट ९३ जना हराइरहेका छन् । लाङटाङ खोला, चिलिमे, मैलुङ खोला, रसुवा भोटेकोसी लगायतका अन्य केन्द्रहरूबाट पनि कैयौँ मजदुरहरू अझै फेला परेका छैनन् ।
भौगोलिक विकटता र ठूला उपकरणको अभावका कारण उद्धार कार्यले गति लिन सकेको छैन । सयौँ फिटसम्म थुप्रिएको लेदो हटाउन ठूला एक्स्काभेटर आवश्यक परे पनि ती मेसिनहरू आयोजनास्थलसम्म पुर्याउन नेपालसँग पर्याप्त क्षमताका हेलिकप्टर छैनन् ।
हाल ठूला मेसिनका पार्टपुर्जा छुट्ट्याएर घटनास्थलसम्म लैजाने प्रयास भइरहेको छ ।

