काठमाडौं । नेपाल धितोपत्र बोर्डले ३ महिनापछि सर्वसाधारणका लागि नयाँ प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ । ३ महिनापछि हाइड्रोपावर कम्पनीको आइपीओ आजबाट खुलेको हो ।
बोर्डबाट अगाडिनै स्वीकृति पाएको बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज सोमबारदेखि सर्वसाधारणका लागि आफ्नो आइपीओ बिक्रीमा राखेको छ ।
कम्पनीले आफ्नो कुल १ अर्ब ४ करोड रुपैयाँ बराबरको जारी पूँजीको २० प्रतिशत सेयर सार्वजनिक निष्कासनमा ल्याएको हो । जसअन्तर्गत २० लाख ८० हजार कित्ता सेयर सर्वसाधारण समूहका लागि जारी गरिएको छ ।
यस निष्कासनमा आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक र सामूहिक लगानी कोषका लागि छुट्ट्याइएको सेयर कटाएर बाँकी रहेको ८ लाख ६३ हजार २०० कित्ता सेयरमा मात्र आम सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।
लगानीकर्ताले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । यो सेयर निष्कासन छिटोमा भदौ २६ गतेसम्म बन्द हुनेछ ।
इच्छुक लगानीकर्ताहरूले अनलाइन प्रणाली ’मेरो सेयर’ वा सी–आस्बा सेवा प्रदान गर्ने सम्पूर्ण सदस्य बैंक तथा वित्तीय संस्थाहरूका शाखा कार्यालयहरूबाट सहजै आवेदन दिन सक्ने बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।
कम्पनीको अवश्था कस्तो छ ?
यो जलविद्युत् कम्पनीले सोलुखुम्बु जिल्लामा सोलु खोलाको बहाव प्रयोग गरी १९.८ मेगावाट क्षमताको ’माथिल्लो सोलु खोला जलविद्युत् आयोजना’ निर्माण गरी सञ्चालन गरिरहेको छ ।
आयोजनाको प्रतिमेगावाट निर्माण लागत १९ करोड ४७ लाख रुपैयाँ रहेको छ भने यसको लगानी साधारण रूपमा फिर्ता हुन ५.७८ वर्ष र डिस्काउन्टेड लगानी फिर्ता अवधि ८.१५ वर्ष लाग्ने प्रक्षेपण गरिएको छ ।
कम्पनीसँग यस जलविद्युत् आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्रको बाँकी अवधि २४ वर्ष सुरक्षित छ । सेयर बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम कम्पनीले बैंकको ऋण भुक्तानी गर्न प्रयोग गर्ने योजना बनाएको छ ।
वित्तीय सूचकहरूको विश्लेषण गर्दा कम्पनीको अवस्था सकारात्मक देखिएको छ । गत पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बेनी हाइड्रोपावरको प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ र प्रतिसेयर आम्दानी (ईपीएस) २१.१७ रुपैयाँ रहेको छ ।
यसैगरी, कम्पनीको सञ्चित नाफा १० करोड ३४ लाख रुपैयाँ पुगिसकेको विवरणमा उल्लेख छ ।
