काठमाडौँ । गत भदौ १० गतेको अविरल वर्षासँगै आएको बाढी र पहिरोले देशका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध भइरहेका बेला पुन:स्थापनाका लागि खटिएका प्राविधिकहरू एकातिर जुटिरहेका छन् भने अर्कोतिर विद्युत् संरचनाका तामाका तार र पाटपुर्जा चोरी हुन थालेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले गम्भीर दुःख व्यक्त गरेका छन्।
बाढीको विपत्तिले जनता अन्धकारमा बस्न बाध्य भएको संवेदनशील समयमा विद्युतीय संरचनाका अत्यावश्यक सामग्री चोरी हुनु अत्यन्तै दुःखद र गम्भीर विषय भएको मन्त्रीले बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा ‘रुटिन अफ नेपाल बन्द’ (Routine of Nepal Banda) ले सेयर गरेको समाचार पोस्टलाई रि-पोस्ट (शेयर) गर्दै मन्त्री विराजभक्त श्रेष्ठले यस्तो अमानवीय र आपराधिक गतिविधिलाई निरुत्साहित गर्न सर्वसाधारणसँग आग्रह गरेका हुन्। रुटिन अफ नेपाल बन्दका अनुसार बाढीको समस्याबाट गुज्रिरहेको नुवाकोटको विदुर नगरपालिका वडा नं. ३ मा एउटा पोलमा रहेको ट्रान्सफर्मर भित्रको तामाको तार तथा अन्य महत्त्वपूर्ण पाटपुर्जाहरू चोरी भएका थिए। सो घटनाको पुष्टि वडा अध्यक्ष बद्री प्रसाद रिमालले गरेका हुन्।
उक्त घटनाप्रति लक्षित गर्दै मन्त्री श्रेष्ठले फेसबुकमा लेखेका छन्, “बाढीको विपत्तिबाट गुज्रिरहेको बेला विद्युत् आपूर्ति पुनःस्थापनाका लागि हामी दिनरात खटिरहेका छौँ। यस्तो अवस्थामा विद्युत् संरचनाका तामाका तार तथा अन्य पाटपुर्जा चोरी हुनु अत्यन्तै दुःखद र गम्भीर विषय हो।”
यी सामग्रीहरू कसैको व्यक्तिगत सम्पत्ति नभई राष्ट्रिय सम्पत्ति भएको उल्लेख गर्दै मन्त्रीले प्रभावित नागरिकको घरमा बत्ती पुर्याउन यस्ता संरचनाको महत्त्वपूर्ण भूमिका रहने स्पष्ट पारेका छन्। “यी सामग्री कसैको निजी सम्पत्ति होइनन्, राष्ट्रिय सम्पत्ति हुन्। अझ अहिले त प्रभावित नागरिकको घरमा बत्ती पुर्याउन आवश्यक पर्ने महत्त्वपूर्ण संरचना/सामग्री हुन्,” मन्त्रीले लेखेका छन्।
भदौ १० गतेको बाढीका कारण मुलुकका धेरै ठाउँमा विद्युत्का पोल ढलेका र ट्रान्सफर्मरमा क्षति पुगेका कारण नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरू रातदिन नभनी मर्मत तथा सेवा सञ्चालनमा खटिएका छन्। तर, यस्तो संकटको घडीमा पनि चोरीका घटना हुनुले नागरिक सेवा प्रभावित बनेको छ।
चोरीका यस्ता गतिविधिलाई रोक्न र दोषीलाई कानुनी दायरामा ल्याउनका लागि स्थानीय प्रशासन तथा सर्वसाधारण सबैको सहयोग आवश्यक रहेको मन्त्रीको भनाइ छ। शंकास्पद गतिविधि देखिएमा तुरुन्त नजिकैको प्रहरी वा सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गर्दै उनले थपेका छन्, “विपत्तिको यो समयमा एक-अर्कालाई सहयोग गरौँ, राष्ट्रिय सम्पत्तिको संरक्षण गरौँ।”
