काठमाडौँ । त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर खण्ड असोज १ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी भएको छ ।
सडक विभागका अनुसार गत भदौ १० र १४ गते आएको बाढीले कृष्णभीर क्षेत्रमा करिब १०० मिटर सडक नदी कटानका कारण पूर्ण रूपमा अवरुद्ध भएको थियो । यातायात सञ्चालनका लागि विभागले आवश्यक स्रोत, साधन, जनशक्ति तथा उपकरण परिचालन गरी नयाँ ट्रयाक निर्माण तथा सडक पुनस्र्थापनाको काम अघि बढाइरहेको छ ।
निर्माणाधीन ट्रयाकको अवस्था र सवारी आवागमनको सम्भाव्यता परीक्षणका क्रममा आइतबार काठमाडौँबाट चितवनतर्फ ग्यास बुलेटसहित करिब २० वटा सवारीसाधन सञ्चालन गरिएको थियो । त्यस्तै, चितवनबाट काठमाडौँतर्फ एउटा भारी सवारीसाधनसहित केही हलुका सवारीसाधन पनि सफलतापूर्वक पार गराइएको सडक विभागले जनाएको छ ।
परीक्षण सफल भए पनि सडक स्तरोन्नति तथा सुरक्षासम्बन्धी बाँकी काम जारी रहेकाले हाल कृष्णभीर खण्डबाट नियमित यातायात सञ्चालन नगरिएको विभागले स्पष्ट पारेको छ । असोज १ गतेदेखि सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य रहेकाले त्यसअघि कृष्णभीर खण्डबाट सवारी आवागमन पूर्ण रूपमा बन्द रहने विभागका प्रवक्ता शुभराज न्यौपानेले जानकारी दिएका छन् ।
सम्बन्धित निकायले जारी गरेका सूचना तथा वैकल्पिक मार्गसम्बन्धी निर्देशन पालना गर्न विभागले यात्रु तथा सरोकारवालालाई आग्रह गरेको छ ।
