काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवा क्षेत्रका कुल ६६९ मेगावाट क्षमताका १२ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन् ।
प्रभावितमध्ये २८१ मेगावाटका ८ वटा सञ्चालित र ३८८ मेगावाटका ४ वटा निर्माणाधीन आयोजना रहेका छन् । बाढीबाट ११ वटा आयोजना पूर्णरूपमा क्षतिग्रस्त हुनुका साथै ९०९ जना मानिस सम्पर्कविहीन भएको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पानले) जनाएको छ ।
सबैभन्दा बढी क्षति निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनामा पुगेको छ । जहाँ बाढीअघि १ हजार ४३३ जना कार्यरत रहेकोमा हालसम्म ८७८ जनाको उद्धार गरिएको छ भने ५३८ जना सम्पर्कविहीन छन् ।
सम्पर्कविहीन हुनेहरूमा ९ कोरियन, ३४ चिनियाँ र ५० भारतीय नागरिकसमेत रहेका छन् भने आयोजनास्थलबाट १० जनाको शव भेटिएको छ । यस्तै, १११ मेगावाटको रसुवागढीका ९३ जना र ३७ मेगावाटको त्रिशूली ३ ‘बी’का १७८ जना अझै सम्पर्कविहीन रहेका छन् ।
क्षतिग्रस्त आयोजनाहरूमा नेपाली सेनाको टोली, हेलिकप्टर र ठूला मेसिनरी उपकरण प्रयोग गरी सुरुङ तथा आवास क्षेत्रको लेदो पन्छाउने र खोजी तथा उद्धार कार्यलाई तीव्र पारिएको छ ।
२२ मेगावाटको चिलिमे जलविद्युत् केन्द्रको भूमिगत विद्युतगृहको पहुँच सुरुङ सफा गर्ने काम भइरहेको छ भने त्रिशूली ३ ‘बी’ मा आवास तथा कार्यालय भवन क्षेत्रको उत्खनन जारी राखिएको छ ।
