काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण कुल ६६९ मेगावाट क्षमताका १२ वटा जलविद्युत आयोजनाहरू प्रभावित भएका छन् । जसमध्ये ८ वटा सञ्चालनमा रहेका (२८१ मेगावाट) र ४ वटा निर्माणाधीन (३८८ मेगावाट) रहेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार ११ वटा आयोजनाहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।
माथिल्लो त्रिशूली–१ मा उद्धार कार्य र क्षतिको अवस्था
२१६ मेगावाटको निर्माणाधीन माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा नेपाली सेनासहितको टोलीले अडिट नम्बर ३ बाट सुरुङको सर्भे सुरु गरे पनि अत्यधिक डेब्रिज र लेदोका कारण अघि बढ्न कठिन भएको छ । बाँधतर्फको सुरुङसम्म पुग्न ४ किलोमिटर दूरी तय गर्नुपर्ने भएकाले सुरुङभित्रको वास्तविक अवस्था पत्ता लगाउन केही दिन लाग्ने कम्पनीले जनाएको छ ।
आयोजना स्थलमा कार्यरत कुल १,४३३ कामदारमध्ये हालसम्म ८७८ जनाको उद्धार तथा सम्पर्क भएको छ भने १० जनाको शव फेला परिसकेको छ । आयोजनामा कम्पनीका १५, डोसानका ४७, पावर लाइनका ३३५, परामर्शदाताका ७ र एण्ड्रिजका ९ गरी कुल ४९७ जना अझै हराइरहेका छन् । हराइरहेका विदेशी नागरिकहरूमा ९ जना कोरियन, ३४ जना चिनियाँ र ५० जना भारतीय नागरिक रहेका छन् ।
चिलिमे जलविद्युत केन्द्रमा पानी सुकाउने काम जारी
२२ मेगावाटको चिलिमे जलविद्युत केन्द्रको पहुँच सुरुङभित्र खन्ने क्रममा पानी र लेदो भेटिएपछि डिवाटरिङको कार्य भइरहेको छ । नेपाली सेनाको उद्धार टोली सुरुङको १२५ मिटरसम्म पुग्न सफल भएको छ ।
चिलिमे जलविद्युत केन्द्रका कार्यकारी निर्देशक बाबुराम महर्जनका अनुसार पानीमा हिलो र लेदो मिसिएकाले अहिले उत्खनन रोकेर मोटरमार्फत पानी बाहिर फाल्ने काम भइरहेको छ । रातभर पानी सुकाइसकेपछि सम्भव भएमा भोलिदेखि मेशिनरी उपकरण प्रयोग गरी लेदो हटाउने योजना रहेको छ । उद्धार कार्यमा कठिनाइ आएका कारण विद्युत गृहभित्र रहेका मानिसहरूको अवस्था अझै अज्ञात रहेको छ ।
अन्य जलविद्युत आयोजनाहरूको क्षति र उद्धारको विवरण
इप्पानको विवरण अनुसार अन्य प्रमुख आयोजनाहरूमा पनि खोजी तथा उद्धार कार्य जारी राखिएको छ ।
रसुवागढी (१११ मेगावाट): ९३ जना सम्पर्कविहीन रहेकोमा खोजी कार्य जारी छ ।
माथिल्लो त्रिशूली–३बी (३७ मेगावाट): १७८ जना सम्पर्कविहीन र ३६ जना सकुशल रहेका छन् ।
माथिल्लो त्रिशूली–३ए (६० मेगावाट): ३९ जना सम्पर्कविहीन रहेका र खोजी जारी छ ।
लाङटाङ खोला (२० मेगावाट): ३९ जना सम्पर्कविहीन र १९ जना सकुशल उद्धार भएका छन् ।
त्रिशूली जलविद्युत केन्द्र (२४ मेगावाट): २ जना सुरक्षागार्ड र १ जना कर्मचारी गरी ३ जना सम्पर्कविहीन छन् भने ७० जना सकुशल रहेका छन् ।
रसुवा–भोटेकोशी (१२० मेगावाट): ३ जना सम्पर्कविहीन र ५ जना सकुशल छन् ।
देवीघाट (१४.१ मेगावाट): १ जना सुरक्षागार्ड सम्पर्कविहीन छन् ।
मिडल त्रिशूली गंगा (१५.६ मेगावाट): २ जना सम्पर्कविहीन र १ जना सकुशल रहेका छन् ।
