काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहन डाँगीले हालै रसुवा तथा नुवाकोट क्षेत्रमा आएको विनाशकारी बाढीलाई सामान्य बाढी मात्र नभई ‘महाप्रलय’ को संज्ञा दिएका छन् ।
अर्थ संसारसँगको अन्तर्वार्तामा कुराकानी गर्दै अध्यक्ष डाँगीले जलविद्युत् आयोजनाहरू निर्माण गर्दा नदीमा १०० वर्षसम्म आएको बाढीको स्तर मूल्याङ्कन गरेर संरचनाको डिजाइन गरिने भए तापनि यस पटक सो १०० वर्षको अध्ययनले समेत काम नगरेको बताएका हुन् । हिमाली क्षेत्रमा आइसको पहाड खसेर आएको यो विपत्ति सुनामी सरह रहेको र यसलाई सामान्य बाढी मात्र भन्नु अन्याय हुने उनको भनाइ छ ।
अन्तर्वार्ताका क्रममा अध्यक्ष डाँगीले रसुवामा ६ र नुवाकोटमा ७ गरी कुल १३ वटा जलविद्युत् आयोजना यस विपत्तिबाट प्रभावित भएको जानकारी दिएका छन् । जसमध्ये दुईवटा आयोजनाको त्रिशूली थ्री ’बी’ प्रसारण लाइनमा क्षति पुगेकाले उत्पादन मात्र रोकिएको र बाँकी ११ वटा आयोजनामा (९ सञ्चालनमा रहेका र २ निर्माणाधीन) व्यापक भौतिक क्षति पुगेको छ ।
यी प्रभावित आयोजनाहरूको कुल उत्पादन क्षमता करिब ६५० मेगावाट रहेको छ । सरकारले प्रारम्भिक रूपमा ६७ अर्ब रुपैयाँ क्षतिको अनुमान गरे पनि भौगोलिक कठिनाइका कारण वास्तविक क्षति यकिन हुन बाँकी रहेको र इप्पानको प्रारम्भिक अनुमान अनुसार जलविद्युत् क्षेत्रमा मात्रै करिब ३० अर्ब रुपैयाँको क्षति भएको उनले स्पष्ट पारे ।
यसैगरी, बाढी तथा पहिरोका कारण ऊर्जा क्षेत्रका विभिन्न आयोजनामा कार्यरत सयौँ मजदुर तथा कर्मचारीहरू हराइरहेको र तिनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको उनले बताए । यत्रो क्षतिपछि देशमा फेरि लोडसेडिङ हुने त्रास उत्पन्न भए पनि नेपाल विद्युत प्राधिकरणले प्रणालीको सही व्यवस्थापन गरेमा लोडसेडिङ हुने सम्भावना नरहेको तर भारततर्फ विद्युत् निर्यातमा भने असर पर्न सक्ने उनले बताए ।
जलविद्युत् क्षेत्रको पुनरुत्थानका लागि सरकारले आयोजनाहरूलाई ५० वर्षको लाइसेन्स अवधि दिनुपर्ने, नेपाल राष्ट्र बैंकमार्फत ब्याजमा सहुलियत तथा विशेष प्याकेज ल्याउनुपर्ने र निजी क्षेत्रलाई प्रसारण लाइन निर्माण तथा विद्युत् व्यापारमा खुला गर्नुपर्ने मागसमेत उनले राखेका छन् ।
