काठमाडौं । रसुवाको चिलिमे क्षेत्रमा उद्धारमा खटिएको टोली सुरुङको करिब १५० मिटरभित्र प्रवेश गरेको छ । त्रिशूली–३ ‘ए’ आयोजनामा प्रयोग गरिएको जस्तै पानीको तीव्र धार प्रयोग गर्ने प्रविधिबाट सुरुङको माथिल्लो भागमा जमेको लेदो पन्छाउँदै उद्धार टोली अघि बढिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा इन्जिनियर श्रीराम न्यौपानेले जानकारी दिएका छन् ।
उद्धार कार्यमा प्रत्यक्ष संलग्न न्यौपानेका अनुसार सुरुङको माथिल्लो भागमा रहेको लेदो हटाउँदै टोली करिब १५० मिटरभित्र पुगिसकेको हो । उद्धारका लागि खटिएका टोलीले कठिन परिस्थितिमा पनि निरन्तर काम गरिरहेको उनले बताएका छन् ।
न्यौपानेले उद्धार कार्यमा खटिएका सबैप्रति सम्मान व्यक्त गर्दै आज सुखद खबर आउने विश्वाससमेत व्यक्त गरेका छन् । पूर्वनिर्धारित कार्यक्रमका लागि आफू भर्खरै तनहुँ पुगेको उनले जानकारी दिएका छन् ।
त्रिशूली–३ ‘ए’ आयोजनामा समेत प्रयोग गरिएको पानीको तीव्र धारमार्फत लेदो पन्छाउने प्रविधिको प्रयोग गरी चिलिमे सुरुङमा उद्धार कार्य अघि बढाइएको हो । उद्धार टोली सुरुङभित्र थप अगाडि बढ्ने प्रयासमा रहेको जनाइएको छ ।
