काठमाडौं । नेपाल विद्युत क्षेत्र अब विद्युत उत्पादन विस्तारमा मात्र केन्द्रित नभई भरपर्दो, गुणस्तरीय, सुरक्षित र दिगो विद्युत प्रणाली निर्माणतर्फ अघि बढ्नुपर्नेमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले जोड दिएका छन् । उनले उत्पादित विद्युतलाई प्रभावकारी रूपमा उपभोक्तासम्म पुर्याउनुका साथै भविष्यको विद्युत माग धान्न सक्ने प्रणाली विकास गर्नुपर्ने बताएका हुन् ।
आइइइइ पावर एन्ड इनर्जी सोसाइटी नेपाल च्याप्टरको आयोजनामा भएको पाँचौं अन्तर्राष्ट्रिय सम्मेलन अन सस्टेनेबल पावर एन्ड इनर्जी सिस्टम्स (एसपिइएस २०२६) को उद्घाटन समारोहलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै कार्यकारी निर्देशक श्रेष्ठले नेपालको विद्युत क्षेत्रको अबको चुनौती उत्पादनको मात्रा बढाउनु मात्र नभएको बताए ।
उनले उत्पादित विद्युतलाई कति भरपर्दो, गुणस्तरीय र प्रभावकारी रूपमा उपभोक्तासम्म पुर्याउने, स्वच्छ ऊर्जाको अधिकतम उपयोग गर्ने तथा भविष्यको माग धान्न सक्ने लचिलो विद्युत प्रणाली निर्माण गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

श्रेष्ठले विद्युत आपूर्तिको विश्वसनीयता नेपाल विद्युत प्राधिकरणको महत्वपूर्ण प्राथमिकता रहेको उल्लेख गर्दै प्रसारण सञ्जाल सुदृढीकरण, सबस्टेसनको क्षमता विस्तार, वितरण प्रणालीमा स्वचालन, सुरक्षा प्रणाली सुधार, डिजिटल अनुगमन तथा पूर्वानुमानमा आधारित मर्मतसम्भारमा आधुनिक प्रविधिको प्रयोग बढाउनुपर्ने बताए ।
उनले ‘इलेक्ट्रिसिटी सप्लाई एक्सपान्सन’ अर्थात् विद्युत आपूर्ति विस्तारसँगै ‘प्रोडक्टिभ इलेक्ट्रिसिटी युटिलाइजेसन’ अर्थात् उत्पादक क्षेत्रमा विद्युतको उपयोगलाई पनि प्राथमिकता दिनुपर्ने बताए । विद्युतीय सवारीसाधन, विद्युतीय खाना पकाउने प्रविधि, सिँचाइ, औद्योगिक विद्युतीकरण, डाटा सेन्टर, शीत भण्डार तथा विद्युतमा आधारित उद्योगमा विद्युतको उपयोग बढाउनुपर्ने उनको भनाइ थियो ।

नेपालको भौगोलिक अवस्था र बाढी, पहिरोलगायत प्राकृतिक विपद्को जोखिमलाई ध्यानमा राख्दै ऊर्जा पूर्वाधार निर्माण गर्दा इन्जिनियरिङ डिजाइनसँगै जलवायुजन्य जोखिम सामना गर्न सक्ने पूर्वाधार विकासलाई प्राथमिकता दिनुपर्ने श्रेष्ठले बताए ।
उनले युवा इन्जिनियर तथा अनुसन्धानकर्तालाई नेपालको विद्युत क्षेत्रका वास्तविक समस्यासँग जोडिने अनुसन्धानमा केन्द्रित हुन आग्रह गरे । अनुसन्धानलाई अनुसन्धानपत्र प्रकाशनमा मात्र सीमित नराखी विश्वविद्यालय, अनुसन्धान संस्था, सरकार, निजी क्षेत्र तथा विद्युत सेवा प्रदायक संस्थाबीचको सहकार्यबाट व्यवहारमा लागू गर्न सकिने समाधान विकास गर्नुपर्ने उनको भनाइ थियो ।
सम्मेलनको दोस्रो सत्रमा नेपाल विद्युत प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख राजन ढकालले ‘इभोल्भिङ द ग्रिड: फ्रम ट्रेडिसनल टी एन्ड डी टु द युटिलिटी अफ द फ्युचर’ विषयमा कार्यपत्र प्रस्तुत गरे ।
ढकालले हालैको भोटेकोशी बाढीले दिगो लगानी तथा जलवायुजन्य जोखिम सामना गर्न सक्ने पूर्वाधार विकासको आवश्यकता थप स्पष्ट पारेको बताए । उनले बदलिँदो परिस्थितिअनुसार विद्युत प्रसारण तथा वितरण प्रणालीलाई थप सुरक्षित, भरपर्दो र भविष्यका आवश्यकताअनुकूल बनाउनुपर्नेमा जोड दिए ।
सम्मेलनमा क्यानाडाका प्रा. डा. राजेश कार्की, आइइइइ पावर एन्ड इनर्जी सोसाइटी नेपाल च्याप्टरका अध्यक्ष डा. सुजन अधिकारीसहित ऊर्जा क्षेत्रका विज्ञ, इन्जिनियर तथा अनुसन्धानकर्ताहरूको सहभागिता रहेको छ ।

