काठमाडौं । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले धाप बाँधको अवस्था नियमित प्राविधिक निगरानी तथा व्यवस्थापनमा रहेकाले सर्वसाधारण आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् ।
मन्त्री श्रेष्ठले सामाजिक सञ्जालमार्फत धाप बाँधको पछिल्लो अवस्थाबारे जानकारी दिँदै बाँधको सुरक्षा तथा आवश्यक पूर्वतयारी निरन्तर भइरहेको बताएका हुन् । उनले धाप बाँधबारे आधिकारिक सूचनामा मात्र विश्वास गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।
काठमाडौं उपत्यकाको पानीको आवश्यकता पूरा गर्न तथा वर्षायाममा संकलन गरिएको पानी सुख्खायाममा उपयोग गर्ने उद्देश्यले धाप बाँध निर्माण गरिएको हो । यो बाँध ‘कन्क्रिट फेस्ड रकफिल ड्याम’ प्रविधिमा निर्माण गरिएको मन्त्री श्रेष्ठले बताएका छन् ।
हाल मनसुनका कारण जलाशयमा पानीको बहाव बढिरहेको अवस्थामा बाँधको अवस्था, जलाशयको पानीको सतह, पानी भित्रिने मात्रा र बाहिरिने मात्रा निरन्तर प्राविधिक निगरानीमा राखिएको छ । हालसम्म बाँधको मुख्य संरचनामा कुनै असामान्य अवस्था नदेखिएको मन्त्री श्रेष्ठले बताएका छन् ।
उनका अनुसार जलाशयको सामान्य पानीको सतह २०८७.१४ मिटर हो । उक्त तहभन्दा माथि पानीको सतह पुगेमा अतिरिक्त पानी ‘स्पिलवे’ बाट स्वत: निकास हुने व्यवस्था रहेको छ ।
२०८३ भदौ २४ गते धाप बाँधको ‘स्याडल ड्याम–१’ अर्थात् सिन्धुपाल्चोकतर्फको भाग नजिक सडक किनारामा पहिरो गएपछि सुरक्षाका लागि करिब ४०० लिटर प्रतिसेकेन्ड पानी बाहिर निकाल्ने व्यवस्था निरन्तर कायम गरिएको मन्त्री श्रेष्ठले जानकारी दिएका छन् ।
पहिरो गएको समयमा जलाशयको पानीको सतह २०८७.१८ मिटर रहेकोमा हाल २०८४.८० मिटरमा पुगेको उनले बताएका छन् । यस अवधिमा पानीको सतह करिब २.३८ मिटर घटेको र सञ्चित पानीको करिब ३५ प्रतिशत निकासा भइसकेको उनको भनाइ छ ।
हाल वर्षाको मात्रा घट्दो क्रममा रहेकाले जलाशयमा भित्रिने पानीको मात्रा पनि घट्न सक्ने अवस्था रहेको मन्त्री श्रेष्ठले बताएका छन् । जलाशयको पानीको सतह, पानी भित्रिने मात्रा र बाहिरिने मात्रालाई विशेष निगरानीमा राखी आवश्यकताअनुसार पानी व्यवस्थापन भइरहेको उनले बताएका छन् ।
मन्त्री श्रेष्ठका अनुसार बढी वर्षा भएर जलाशयको पानीको सतह २०८७.१४ मिटरभन्दा माथि पुगेमा ‘स्पिलवे’ बाट पानी स्वत: निकास हुने व्यवस्था छ ।
उनले बाँधको अवस्था नियमित निगरानीमा रहेकाले सर्वसाधारणलाई आत्तिनुपर्ने अवस्था नरहेको दोहोर्याउँदै आधिकारिक सूचनालाई मात्र आधार बनाउन आग्रह गरेका छन् ।
