काठमाडौं । कुलेखानी जलाशयको जलसतह हाल १ हजार ५२७.१२ मिटरमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार बुधबार बिहान ९ बजे गरिएको मापनअनुसार जलाशयको जलसतह १ हजार ५२७.१२ मिटर रहेको हो ।
मौसममा सुधार आएको, जलसतह वृद्धिदर न्यून रहेको तथा जलाशयको पूर्ण भण्डारण क्षमता १ हजार ५३० मिटर रहेकाले अझै करिब ३ मिटरको स्थान बाँकी रहेको प्राधिकरणले जनाएको छ । यी अवस्थालाई दृष्टिगत गर्दा हाल बाँधका मुख्य गेटहरू खोल्नुपर्ने जोखिमपूर्ण अवस्था नरहेको प्राधिकरणको भनाइ छ ।
यसअघि मौसम पूर्वानुमान महाशाखाले असोज ७ गतेदेखि ११ गतेसम्म अत्यधिक वर्षा हुनसक्ने विशेष मौसमी बुलेटिन जारी गरेपछि कुलेखानी जलाशयमा जलसतह उच्च बिन्दुमा पुग्नसक्ने सम्भावनालाई ध्यानमा राखेर प्राधिकरणले विभिन्न चरणमा सतर्कता तथा पूर्वतयारी गरेको थियो ।
जलाशयको जलसतह उच्चतम बिन्दुमा पुगेमा सुरक्षा तथा जलसतह सन्तुलन कायम राख्न बाँधका मुख्य गेटहरू खोल्नुपर्ने अवस्था आउनसक्ने भन्दै प्राधिकरणले मुख्य ड्यामको तल्लो तटीय क्षेत्र, सिस्नेरी खोला तथा बागमती नदी किनारमा पानीको बहाव आकस्मिक रूपमा बढ्नसक्ने चेतावनी दिएको थियो । त्यसक्रममा असोज ११ गते एसएमएस अलर्ट तथा सूचना समेत प्रवाह गरिएको थियो ।
हाल भने जोखिमपूर्ण अवस्था नरहेकाले चेतावनीको साइरन नबजाइएको प्राधिकरणले स्पष्ट पारेको छ । तर मौसम प्रतिकूल भई अप्रत्याशित रूपमा भारी वर्षा भएर जलसतह वृद्धिदर तीव्र हुने अवस्था सिर्जना भएमा सूचना, आपत्कालीन साइरन तथा एसएमएस अलर्टमार्फत जानकारी गराइने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले असोज ७ गतेदेखि ११ गतेसम्मको वर्षाका कारण उत्पन्न जोखिम न्यूनीकरणका लागि पूर्वतयारी तथा अवस्थाको सूचना प्रवाहमा सहयोग र समन्वय गर्ने जिल्ला प्रशासन कार्यालय मकवानपुर, सम्बन्धित स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समिति, मकवानपुरका चारवटै सुरक्षा निकाय, पत्रकार तथा मिडियाकर्मी, स्थानीय संघसंस्था र स्थानीयवासीप्रति आभार व्यक्त गरेको छ ।
