काठमाडौं । नेपाल र भारतबीचको जलस्रोत तथा ऊर्जा सहकार्यलाई थप सुदृढ, प्रभावकारी र परिणाममुखी बनाउने विषयमा उच्चस्तरीय छलफल भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र भारत सरकारको जल शक्ति मन्त्रालयकी सचिव अर्चना वर्मालगायत जलस्रोत तथा ऊर्जा क्षेत्रका उच्च अधिकारीबीच भएको छलफलमा द्विपक्षीय जलस्रोत सहकार्यका विभिन्न विषयमा विचारविमर्श भएको हो ।
छलफलमा भारतले जल संरक्षण, नदी पुनर्जीवन तथा जलस्रोत व्यवस्थापनका क्षेत्रमा अघि बढाएका ‘जल शक्ति अभियान–क्याच द रेन’ र ‘रिजुभिनेसन अफ गंगा’ लगायतका कार्यक्रमबाट नेपालले लिन सक्ने सिकाइ र अनुभवबारे विशेष छलफल भएको मन्त्री श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
यस्तै, पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालगायत नेपाल–भारत जलस्रोत सहकार्यका महत्वपूर्ण विषयमा प्राविधिक तथा संस्थागत समन्वयमार्फत ठोस प्रगति हासिल गर्ने विषयमा पनि छलफल भएको उनले बताएका छन् ।
विभिन्न परियोजनाका प्राविधिक पक्षको समीक्षा, विज्ञ सम्मिलित प्राविधिक समिति गठन गर्ने प्रस्ताव, तथ्यांक आदान–प्रदान तथा पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ ।
आगामी संयुक्त स्थायी प्राविधिक समिति (जेएसटीसी) तथा जलस्रोतसम्बन्धी संयुक्त बैठक (जेएसडब्लूआर) लाई नेपाल–भारत जलस्रोत सहकार्यका महत्वपूर्ण विषयमा ठोस प्रगति हासिल गर्ने अवसरका रूपमा उपयोग गर्ने विषयमा समेत छलफल भएको छ ।
यसैगरी, हालैको भोटेकोशी विपद्का क्रममा भारत सरकार तथा भारतीय जनताबाट प्राप्त शीघ्र सहयोग, सद्भाव र ऐक्यबद्धताप्रति मन्त्री श्रेष्ठले धन्यवाद व्यक्त गरेका छन् ।
नेपाल–भारतबीच जलस्रोतको दिगो तथा न्यायोचित उपयोग, पारस्परिक लाभ र साझा समृद्धिका लागि सहकार्यलाई अझ गहिरो, संस्थागत र परिणाममुखी बनाउँदै लैजाने प्रतिबद्धता पनि छलफलका क्रममा व्यक्त गरिएको मन्त्री श्रेष्ठले बताएका छन् ।

