काठमाडौं । बुढीगण्डकीमा आएको बाढीबाट क्षति पुगेको विद्युत् प्रणालीअन्तर्गत धार्चे गाउँपालिकाबाहेकका सबै क्षेत्रमा विद्युत् आपूर्ति पुन: सञ्चालनमा आएको छ ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले सामाजिक सञ्जालमार्फत राति १:४० बजेसम्मको कार्यप्रगति सार्वजनिक गर्दै विद्युत् आपूर्ति पुन:स्थापनाको काम तीव्र रूपमा अघि बढिरहेको जानकारी दिएका हुन् ।
उनका अनुसार खोर्लाबेंसीदेखि माथिल्लो क्षेत्रमा सडक पहुँच नहुँदा र विद्युत् लाइनमा पूर्ण क्षति पुगेकाले पुन:स्थापनामा कठिनाइ भएको छ । उक्त क्षेत्रमा विद्युत् आपूर्ति पुन: सञ्चालन गर्न प्राविधिक टोलीले प्रयास जारी राखेको उनले बताएका छन् ।
खोर्लाबेंसीसम्म जतिसक्दो छिटो विद्युत् आपूर्ति पुन: सञ्चालन गर्ने लक्ष्यसहित काम भइरहेको मन्त्री श्रेष्ठले उल्लेख गरेका छन् । त्यसैगरी, आज बिहानदेखि धार्चे गाउँपालिकामा पनि विद्युत् प्रणाली पुन:स्थापनाको काम सुरु गरिएको उनले जानकारी दिएका छन् ।
बाढीबाट क्षतिग्रस्त विद्युत् प्रणाली पुन:स्थापना गरी प्रभावित क्षेत्रमा विद्युत् सेवा नियमित गर्ने प्रयास भइरहेको छ ।
