काठमाडौं । बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावका कारण आगामी कार्तिक १२ देखि १४ गतेसम्म देशका अधिकांश प्रदेशमा भारी वर्षा, हावाहुरी र हिमपातको जोखिम देखिएको छ । सम्भावित विपद्लाई मध्यनजर गर्दै सम्बन्धित निकायले उच्च सतर्कता अपनाउन तथा जोखिमयुक्त क्षेत्रमा आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् ।
पूर्वानुमानअनुसार कार्तिक १२ गते बिहीबारदेखि १४ गते शनिबारसम्म चट्याङ र हावाहुरीसहित भारी वर्षा हुने सम्भावना छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको समेत उच्च जोखिम रहेकाले जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने जनाइएको छ ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै किसानलाई धानबाली काटिसकेको भए कार्तिक १२ गतेअघि नै भित्र्याउन आग्रह गरिएको छ । त्यस्तै, पर्यटकलाई उच्च पहाडी तथा हिमाली क्षेत्रमा नजान र उक्त क्षेत्रमा पुगिसकेका पर्यटकलाई जोखिमको अवधिभर सुरक्षित स्थानमा रहन भनिएको छ ।
मौसम प्रतिकूल हुनसक्ने भएकाले कार्तिक १२ देखि १४ गतेसम्म अत्यावश्यक कामबाहेक यात्रा नगर्न पनि आग्रह गरिएको छ । आवश्यक परेमा स्थानीय प्रशासनले सवारी आवागमन बन्द गर्न सक्ने र त्यसअघि नै सर्वसाधारणलाई सूचना उपलब्ध गराउनुपर्ने व्यवस्था मिलाउन भनिएको छ ।
सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि जिल्ला सुरक्षा समिति, स्थानीय तह, सुरक्षा निकाय तथा स्वयंसेवकलाई पूर्वसूचनाका आधारमा जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति तथा परिवारलाई सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ । सम्बन्धित निकायलाई जोखिमबारे सर्वसाधारणलाई विभिन्न माध्यमबाट जानकारी गराउन र विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहनसमेत भनिएको छ ।
सर्वसाधारणलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, जल तथा मौसम विज्ञान विभागलगायत आधिकारिक निकायबाट जारी हुने अद्यावधिक पूर्वसूचना र चेतावनी पालना गर्न आग्रह गरिएको छ ।
मौसमसम्बन्धी जानकारीका लागि ११५५, विपद्मा सहयोग माग्न १२३४, १०० वा १११४ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।
