काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तिहार तथा छठ पर्वमा विद्युत आपूर्ति नियमित, भरपर्दो र गुणस्तरीय बनाउन विशेष तयारी गरेको छ ।
पर्वका समयमा विद्युत आपूर्ति प्रभावित हुन नदिन उत्पादन, प्रसारण तथा वितरण प्रणालीलाई चुस्त राख्नुका साथै प्राविधिक कर्मचारीलाई चौबीसै घण्टा तयारी अवस्थामा राख्ने व्यवस्था मिलाएको छ ।
तिहार तथा छठ पर्वका समयमा विद्युत प्रणाली सञ्चालन र आपूर्ति व्यवस्थापनका लागि प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको अध्यक्षतामा वरिष्ठ व्यवस्थापन टोलीको बैठक बसेको छ । बैठकमा पर्वका समयमा विद्युत आपूर्ति सहज बनाउन गरिएको तयारी, प्रणाली सञ्चालन र सम्भावित चुनौती व्यवस्थापनबारे छलफल भएको थियो ।
त्यसैगरी, प्रणाली सञ्चालन विभाग (एलडीसी), ग्रिड सञ्चालन विभाग तथा वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गतका प्रादेशिक तथा प्रदेश डिभिजन कार्यालय प्रमुखहरूसँग भर्चुअल बैठक गरी विद्युत आपूर्ति व्यवस्थापन, प्रणालीको निगरानी र आवश्यक जनशक्ति परिचालनबारे समन्वय गरिएको प्राधिकरणले जनाएको छ ।
कार्यकारी निर्देशक श्रेष्ठले पर्व अवधिभर विद्युत आपूर्तिमा अवरोध हुन नदिन आवश्यक तयारी गर्न सम्बन्धित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन् । विद्युत आपूर्तिमा समस्या देखिए तत्काल मर्मतसम्भार गरी सेवा सञ्चालन गर्न प्राविधिक टोलीलाई तयारी अवस्थामा राख्नसमेत उनले निर्देशन दिएका छन् ।
प्रसारण लाइन तथा वितरण प्रणालीको निरीक्षण र मर्मतसम्भारका बाँकी काम तत्काल सम्पन्न गरी सम्भावित अवरोध न्यूनीकरण गर्न पनि निर्देशन दिइएको छ । विद्युतसम्बन्धी गुनासो तत्काल सम्बोधन गर्न नो लाइट सेवामा आउने फोन नियमित उठाउने र गुनासो व्यवस्थापन प्रभावकारी बनाउन कार्यालय प्रमुखहरूलाई भनिएको छ ।
प्राधिकरणका अनुसार तिहारको लक्ष्मीपूजाका दिन साँझ विद्युतको अधिकतम माग करिब १ हजार ७०० मेगावाट रहने अनुमान छ । उक्त माग पूरा गर्न आन्तरिक उत्पादन नै पर्याप्त हुने कार्यकारी निर्देशक श्रेष्ठले बताएका छन् । उनका अनुसार सो अवधिमा विद्युत उत्पादन करिब २ हजार ५०० मेगावाट पुग्ने प्रक्षेपण गरिएको छ । आन्तरिक मागभन्दा उत्पादन बढी हुने भएकाले विद्युत आपूर्ति सहज बनाउन पर्याप्त ऊर्जा उपलब्ध हुनेछ ।
पर्व अवधिभर विद्युतको माग र आपूर्तिको अवस्थाबारे एलडीसी, ग्रिड सञ्चालन विभाग र वितरण केन्द्रहरूबीच निरन्तर समन्वय तथा अनुगमन गरिने प्राधिकरणले जनाएको छ । प्रणालीमा आउन सक्ने सम्भावित समस्या समयमै पहिचान गरी समाधान गर्न प्राविधिक तथा व्यवस्थापकीय तयारीसमेत गरिएको छ ।
यसैबीच, प्राधिकरणले तिहार तथा छठ पर्वमा विद्युतको सुरक्षित प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेको छ । घरमा प्रयोग हुने विद्युतीय उपकरण तथा तारको अवस्था जाँच गर्न, गुणस्तरहीन विद्युतीय सामग्री प्रयोग नगर्न र विद्युत चुहावट वा तारमा समस्या देखिए आफैँ मर्मत नगरी दक्ष प्राविधिकबाट मात्र मर्मत गराउन प्राधिकरणले अनुरोध गरेको छ ।
विद्युत आपूर्तिसम्बन्धी समस्या वा गुनासो भए नजिकको वितरण केन्द्र वा सम्बन्धित नो लाइट सेवामा सम्पर्क गर्नसमेत प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ ।
